Tuesday, January 12, 2010

‘आफू मरेर मलाई बचाए’‌- पर्सा वोरगंजका सहायक प्रजिअ

उपेन्द्र लामिछाने, पुस २८-

पर्सामा सोमबार सहा यक प्रजिअ बलबहादुर मल्लप्रति लक्षित गरी चलाइएको गोलीमा उनका अंगरक्षक अनन्तराज खड्का मारिए। घटना बारे मल्लको भनाई उनकै शब्दमा-

सँधै झै सोमबार बिहान १० बजे रानीघाटस्थित क्वार्टरबाट सुरक्षागार्डसहित कार्यालय जान बाहिर निस्किएँ। त्यहाँ ना१झ ४८१ नम्बरको गाडी रोकिएको थियो। १० बजेर ५ मिनेटजति भएको थियो। सुरक्षागार्डले एक्कासी मलाई गाडीभित्र छिराए। मैले के भएको हो, भेउ पाउनै सकिन। मभित्र छिरेलगत्तै गोलीको आवाज आयो। गार्ड त्यहीँ ढले। मभित्र आत्तिएँ। गाडीको सिसामा लागेर एउटा गोली मेरो छेउबाटै गयो। केही चीज मेरो टाउकोमा गडेजस्तो लाग्यो।

एकैछिनमा भीड जम्मा भयो। मलाई बचाउने क्रममा सुरक्षागार्ड प्रहरी जवान अनन्तराज खड्काले वीरगति प्राप्त गरिसकेका थिए। म बाँचेकोमा खुसी मनाउनसक्ने अवस्थामा थिइनँ। मलाई तुरुन्तै नारायणी अञ्चल अस्पताल लगियो। उपचारको क्रममा टाउकोमा सिसाले काटेको थाहा भयो। वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा सिटीस्क्यान गर्दा खासै समस्या देखिएन।

घटनापछि दिनभरि मन दुःखी भयो। करिब ६ महिनादेखि खड्का अंगरक्षकका रूपमा मेरा साथमा थिए। उनी निक्कै हँसिला र मिलनसार थिए। सुरक्षाको हिसाबमा उनी सधैं चनाखो रहन्थे। म ढुक्क थिएँ। उनको मृत्युसँगै मुलुकले एउटा बहादुर सिपाही गुमाएको छ।


                       मारिएका अनन्तराज खड्का 

केहीबेरमै परिवारले घटना थाहा पाएछन्। राजधानीबाट मेरी श्रीमती, अमेरिकाबाट छोरा-बुहारी र चीन रहेकी छोरीले आत्तिएर फोन गरे। मैले आफू ठीक रहेको जानकारी दिएँ। म बाँचेकोमा मेरो परिवारले यतिबेला सन्तोषको सास फेरेका होलान्। तर, मेरो जीवन जोगाउने क्रममा मारिएका सुरक्षाकर्मीको परिवारका सदस्यको हालत के होला?

सर्लाही कालीन्जोर- ८ का २८ वर्षीय प्रहरी जवान खड्का आठ वर्षदेखि प्रहरी सेवामा थिए। खड्काका श्रीमती, आठ वर्षीय छोरा, ६ वर्षीया छोरी र वृद्ध आमाबुबा छन्। उनी ७० वर्षीय बुबा र ६५ वर्षीया आमाका एक्ला छोरा थिए।

घटनालगत्तै उनकी पत्नी अस्पताल पुगे पनि दिउँसो १२ बजेसम्म उनलाई घटनाको सबै जानकारी दिइएको थिएन। ‘घरबाट अरु अभिभावक नआउन्जेल उनलाई घटनाबारे बताएनौँ,’ कुवेरले भने, ‘घटना थाहा पाएपछि उनी डाँको छाडेर रोइन्।’

खड्का पत्नीसहित वीरगन्ज बसपार्कनजिक डेरा गरेर बस्थे। अञ्चल प्रहरी कार्यालयमा सलामी अर्पण गरेपछि खड्काको शवलाई दाहसंस्कारका लागि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

बिहानैदेखि अपरिचित व्यक्ति त्यस क्षेत्रमा देखिएको प्रत्यक्षदर्शीले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार हातमा रेडियो बोकेको व्यक्तिले सहायक सिडियो बाहिर निस्केलगत्तै गोली प्रहार गरेको थियो। भाग्ने क्रममा त्यो व्यक्तिले इसुमा ब्रान्डको चाइनीज रेडियो छाडेको छ।

यसैबीच तराई संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा (पवन समूह)ले घटनाको जिम्मा लिएको छ। मोर्चाका नेताले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरेर सरकार वार्ताप्रति गम्भीर नभएको आरोप लगाए। सरकारसँग वार्तामा रहेको उक्त समूहले सरकार वार्ताप्रति गम्भीर नभएको भन्दै पुस २७ बाट युद्धविराम भंग गर्ने चेतावनी दिएको छ। २०६५ कात्तिक ३ गते हत्या गरिएका जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत मोहन मैनालीको हत्याको जिम्मेवारी पनि यो समूहले लिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी यादवराज कोइरालाले जनतान्त्रिक मुक्ति मोर्चा (पवन समूह)ले झुक्याएर आक्रमण गरेको बताए। उनले भने, ‘ एक युवकले आक्रमण गरेको भन्ने छ, सबै संयन्त्र परिचालन गरेर आक्रमणकारीको खोजी तीव्र पारेका छौं।’

सरकारी कार्यालय बन्द
सुरक्षाकर्मी हत्याको विरोधमा कर्मचारीले पर्साका सरकारी कार्यालयमा कामकाज ठप्प पारेका छन्। जिल्लाका निजामती संघ-संगठनले कर्मचारीको सुरक्षा ग्यारेन्टी, हत्यारालाई पक्राउ गरी अबिलम्व कारबाहीलगायत माग राख्दै कार्यालय बन्द गरेका छन्।

Source : nagariknews

No comments:

Post a Comment